कच्चा तेलको मूल्य सात महिनायताकै न्यून विन्दुमा
विर्तामोड, २३ साउन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै न्यून विन्दुमा झरेको छ । संसारभर पेट्रोलियम पदार्थको मागमा आएको कमी र संयुक्त राज्य अमेरिकामा आर्थिक मन्दीको डरले कच्चा तेलको भाउ घटिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै, मध्यपूर्वमा बढ्दो द्वन्द्वको खतराको सङ्केतले पनि भाउ घट्न मद्दत गरेको छ । गएको हप्ता हमास र हिजबुल्लाह लडाकु समूहका वरिष्ठ सदस्यहरूको हत्यापछि इरान र यसका सहयोगीहरूले इजरायलमा आक्रमणको तयारी गरेका छन् । इरान र इजरायलबीच युद्ध भएमा मध्यपूर्व सिधै युद्धमा धकेलिने र बाँकी विश्व पनि अप्रत्यक्ष रूपमा युद्धको हिस्सा बन्ने भएकाले तेलको भाउ घटिरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल ७३ दशमलव ६७ डलरमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज भाउ बढे पनि अझै सात महिनायताकै तल्लो तहमा नै रहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्नुको कारण चिनियाँ मागमा आएको व्यापक कमी पनि हो । चीनको खानी र औद्योगिक क्षेत्रमा अहिले मन्दी देखिएकाले इन्धनको खपत कम भइरहेको छ । अमेरिकाले कुनै निर्णय नगर्दासम्म वा अर्थतन्त्रको विषयलाई लिएर वक्तव्य जारी नगर्दासम्म कच्चा तेलको भाउ अस्थिर भइरहने खबरमा उल्लेख छ । ००००००
प्रतिकृया दिनुहोस