प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा मन्त्री कार्कीद्वारा अवलोकन, सतासी खोलामा तटबन्धन गरिने
विर्तामोड, २५ साउन ।
झापाको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा आज प्रदेश मन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालले स्थलगत अनुगमन गर्नुभएको छ ।
कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री कार्कीले सताक्षीधाम परिसर भित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत अनुगमन गर्नुभचएको हो ।
पछिल्लो समय धार्मिक क्षेत्र सताक्षीधाममा सँगै रहेको सतासी खोलाले कटान सुरु गरेसँगै धाम संकटमा पर्दे आएको छ ।
उक्त क्षेत्रमा दीर्घकालिन तटबन्धन निर्माण गर्न कोशी प्रदेशका मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले जानकारी दिनुभयो ।
अवलोकनका क्रममा मन्त्री कार्कीले तटबन्धन धेरै गर्नु पर्ने भएकाले डिपिआर तयारी गरी काम अगाडी बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले वर्खाको समय भएकाले अस्थायी रुपमा तटबन्ध गर्नु पर्ने आवश्यक भए तत्कालका लागि रोकथाम गरौं । दीर्घकालिन तटबन्ध ठूलो रकम आवश्यक पर्ने भएकाले डिपिआर तयार गरी प्रकृया अगाडी बढाउने उहाँको भनाई थियो । गोवद्र्धन गोलोकका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वज र धामका अध्यक्ष बोखिमले मन्त्री कार्कीलाई धामका समस्याहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
टोलीले सताक्षीधाम परिसरमा निर्माण हुँदै गरेको ८७ धाराको समेत अवलोकन गरेको थियो । सताक्षीधामको पूर्व पट्टी सतासी खोलामा श्रद्धालु भक्तजनहरुलाई स्नान गर्न बनाउन सुरु गरिएको धारा निर्माणको काम अन्तिम चरणमा पुगेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको सचिव कालीप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार हाल निर्माण गर्दै आएका धाराहरु भक्तजनहरु र विभिन्न व्यक्तिहरुले एक धारा बराबार २५ हजार रकम सहयोगबाट निर्माण हुँदै आएको छ ।
अनुगमनमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष बहादुर आङ्गबो, नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, जिल्ला कमिटी सदस्य धनबहादुर थेवे, नगर कमिटी सचिव लक्ष्मी गुरागाइँलगायतको उपस्थिति रहेको थियो । ०००००००
प्रतिकृया दिनुहोस