सत्ताबाहिर पुगेपछि प्रचण्डले अलोकतान्त्रिक अभिव्यक्ति दिएको एमाले महासचिव पोखरेलको ठहर 

झापा, २० भदौ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डको असंसदीय राजनीतिले सदनमा किचलो भइरहेको बताउनुभयो ।
‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’
आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको पोखरेलको भनाइ थियो ।
‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’
अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको जिकिर गर्नुभयो ।
‘कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?’, पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गर्नुभयो ।
२०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौंका मेयर बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको महासचिव पोखरेलले बताउनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस