बढ्दो अराजकताविरुद्ध र कानूनीराजका पक्षमा एमालेले काठमाडौंमा जागरणसभा गर्ने
विर्तामोड, २८ कात्तिक ।
सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारी थालेको छ । हालै बसेको सचिवालयको बैठकको निर्णय अनुसार एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागिएको हो ।
जागरण सभाको तयारीका लागि महासचिव शंकर पोखरेलको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठक बसेको संयोजक राजन भट्टराईले बताउनुभयो ।
बैठकले बागमती प्रदेशको इन्चार्ज भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ ।
समितिको सहसंयोजक कैलाश ढुंगेल र सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ ।
जागरण सभा संयोजन समितिको आज नै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको छ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको संयोजक भट्टराईले बताउनुभयो । ०००००
प्रतिकृया दिनुहोस