यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट
विर्तामोड, २८ कात्तिक ।
यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटाएको थियो । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।
यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ । ०००००
प्रतिकृया दिनुहोस