‘आइपिएल रेकर्डका आधारमा गम्भीरलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्नु गलत’ भएको तिवारीको ठहर
विर्तामोड, २७ पुस ।
भारतका पूर्वक्रिकेटर मनोज तिवारीले आइपिएल रेकर्डका आधारमा गौतम गम्भीरलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्नु गलत भएको बताउनुभएको छ । टी–२० विश्वकपपछि राजीनामा दिएका राहुल द्रविडको स्थानमा गम्भीरलाई जुलाई २०२४ मा भारतको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो ।
गम्भीरको कार्यकालमा भारतले सन् १९९७ पछि श्रीलंकामा पहिलो एकदिवसीय शृंखला गुमाएको थियो । रोहित शर्माको कप्तानीमा रहेको भारतले न्युजिल्यान्डविरुद्धको घरेलु टेस्ट शृंखलामा ३–० को हार बेहोरेको थियो भने सन् २०१५ पछि पहिलो पटक अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखला गुमाएको थियो ।
‘आइपिएलको नतिजा हेरेर मात्र उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्नु गलत थियो । मेरो विचारमा यो सही निर्णय थिएन। केकेआरको कायापलटका लागि अन्य पनि श्रेयका हकदार छन्,’ उहाँले भन्नुभयो ।
दुई पटकको विश्वकप विजेता गम्भीर भारतीय प्रशिक्षकको पहिलो रोजाइमा नपरेको दाबी गरिएको थियो । तिवारीले यस विषयमा आफ्नो धारणा राख्दै भीभीएस लक्ष्मण र साईराज बाहुतुले भारतीय प्रशिक्षकका लागि अग्रपङ्क्तिमा रहँदा गम्भीरको नाम कसरी मध्यभागमा आयो भनेर प्रश्न गर्नुभयो ।
‘मलाई लाग्छ, भीभीएस लक्ष्मण र साईराज निकै महत्वपूर्ण छन् । यी दुई मुख्य प्रशिक्षक बन्ने लाइनमा थिए । र, यी दुई धेरै वर्षदेखि एनसिएसँग छन् । जब राहुल द्रविड उपलब्ध थिएनन्, अर्को प्रशिक्षक स्वतः छनोट थियो । त्यसैले त्यो प्रक्रिया अपनाइँदै थियो । यसबीचमा गम्भीर कसरी आए, कसैलाई थाहा छैन,’ उहाँले भन्नुभयो ।
तिवारीले आइपिएलमा कोलकाता नाइट राइडर्सले हालै हासिल गरेको सफलताको श्रेय पनि गम्भीरलाई दिन नहुने दाबी गर्नुभयो । ००००००
प्रतिकृया दिनुहोस