कोशी प्रदेश सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको मिति सर्यो

विराटनगर, २४ पुस ।
कोशी प्रदेश सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको मिति सरेको छ । लगानी सम्मेलन निर्देशक समितिको बैठकले आवश्यक तयारी पूरा नभएको भन्दै बैशाखमा गर्ने गरी लगानी सम्मेलन सारिएको हो ।
प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिन विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । लगानी सम्मेलन व्यवस्थापनको तयारी नपुगेकाले लगानी सम्मेलनको मिति सारिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताउनुभयो ।
उहाँले आवश्यक व्यवस्थापन पूरा नभएकाले लगानी सम्मेलनको मिति सार्नुपरेको जानकारी दिनुभयो । एकदुई दिनभित्र नयाँ मितिका बारेमा निर्णय हुने उहाँको भनाइ छ ।
लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण गरिएको थियो । यस्तै व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालयसमेत सञ्चालन गरिएको थियो ।
पहिलो पटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने तय गरेको थियो । ती आयोजनाको लागत १ खर्ब चार अर्ब ८५ करोड रुपैयाँ रहेको छ । जसअनुसार २ अर्ब ५१ करोड रुपैयाँका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् ।
यस्तै, १ अर्ब १७ करोड रुपैयाँका २ जलविद्युत आयोजना, ६२ अर्ब ६५ करोड रुपैयाँ बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड रुपैयाँ बराबरको पूर्वाधार निर्माण, ४७ करोड रुपैयाँको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोड रुपैयाँको एउटा आयोजना, १३ अर्ब १२ करोड रुपैयाँ बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन् । ००००००
 

प्रतिकृया दिनुहोस