‘दुवै छिमेकीले नेपाललाई प्राथमिकतामा राखेका छन्’
काठमाडौँ, २९ पुस ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गर्नुभएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तरक्रिया भइरहेका जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ र यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ ।” समितिमा पछिल्लो समयमा नेपालको कूटनीतिक सम्बन्धका बारेमा समितिका सदस्यहरुले राख्नुभएको जिज्ञासामा उहाँले उक्त जवाफ दिनुभएको हो ।
मन्त्री डा. राणाले सो बैठकमा अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता र त्यसक्रममा भएका विविध भेटघाट एवं कार्यक्रम, प्रधानमन्त्री ओलीको चीन भ्रमणका साथै आफ्नो भारत भ्रमण र ती भ्रमणमा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटका विषयमा जानकारी गराउनुभएको थियो ।
बैठकमा राखिएको एक जिज्ञासामा मन्त्री डा. राणाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको पुनः स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सो सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन । त्यसमा प्रयोग गरिएको ‘एड’ शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन । तर यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ ।”
नेपालले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको स्पष्ट गर्दै उहाँले भन्नुभयो “ऋण लिने कुरा त आवश्यकतामा आधारित हुन्छ । हामीलाई ऋण आवश्यक छैन, चाहिँदैन भने दिने पक्षले लिनैपर्छ भन्छ र ?” ००००००
प्रतिकृया दिनुहोस