चालू आर्थिक वर्षको साउनदेखि पुससम्म सरकारको आम्दानी र खर्च निकै कमजोर
विर्तामोड, १ माघ ।
चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधि अर्थात् साउनदेखि पुससम्म सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।
चालू शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट छुट्याइएकोमा अहिलेसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् चार खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकमा खर्च ४३ दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । खर्च मात्र नभई आम्दानीमा पनि सरकार टिठलाग्दो अवस्थामा छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा पाँच खर्ब ७४ अर्ब ७६ करोड रुपैयाँ मात्रै उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो ।
कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् चार खर्ब ८९ अर्ब ३९ करोड र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड रुपैयाँ लाख सङ्कलन भएको छ । यस्तै सरकारले चालू आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा ६ महिनामा जम्मा सात अर्ब ३७ करोड रुपैयाँ मात्रै वैदेशिक सहायता प्राप्त भएको छ । ०००००
प्रतिकृया दिनुहोस