विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माणको काम दुई वर्षमा ४५ प्रतिशत मात्रै 

विराटनगर, १ माघ ।
पूर्वको व्यस्त विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दैछ । बढीमा एक वर्षभित्र करिब ६० वर्ष पुरानो टर्मिनल भवन छाडेर नयाँ टर्मिनल भवनमा स्थानान्तरण हुने बताइएको छ । पछिल्लो समय आन्तरिक हवाई यात्रुको बढ्दो चाप थेग्न विराटनगर  विमानस्थललाई हम्मेहम्मे पर्ने गरेको छ । 
सन् २०२१ देखि २०२४ सम्म यात्रुको चाप ५ प्रतिशतले बढेको थियो । सन् २०२५ देखि सन् २०३० सम्म ४ प्रतिशत र सन् २०३० देखि सन् २०३५ सम्म ३ प्रतिशत यात्रु बढ्ने पूर्वानुमान नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ ।
प्राधिकरणले करिब ३ अर्ब १२ करोड रुपैयाँ लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको छ । सँगै धावनमार्ग पनि विस्तार गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले दुई वर्षमा करिब ४५ प्रतिशत हाराहारीमा काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार जसमा वित्तीय प्रगति ३७ प्रतिशत मात्रै छ ।
‘आगामी २०८२ पुसभित्र निर्माण सकेर हस्तान्तरण गरिसक्ने योजना छ,’ इन्जिनियर खड्काले भन्नुभयो, ‘त्यही कारण काम तीव्र पारिएको छ ।’ 
टर्मिनल भवनको शिलान्यास तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गर्नु भएको थियो । निर्माणको ठेक्का केसी, डाँफे जेभीले पाएको छ । इन्जिनियर खड्काका अनुसार १६ हजार ५ सय ९० वर्ग मिटर क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । चाँडै १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई लम्ब्याएर १ हजार ७ सय ७० मिटर बनाइने प्राधिकरणले जनाएको छ । ‘धावन मार्गको स्तरोन्नतीले उडानलाई थप सुरक्षित र प्रभावकारी बनाउने पक्का छ,’ इन्जिनियर खड्काले भन्नुभयो ।
नयाँ टर्मिनल भवन निर्माणपछि ६४ वर्षपछि विराटनगर विमानस्थल नयाँ रुपमा देखिने छ । विराटनगरमा सन् १९५८ मा विमानस्थल बनेको थियो । पहिला भारतको जोगबनी नजिकैको जतुवा गाउँमा रहेको विमानस्थल केही समयपछि विराटनगर सारिएको थियो । नयाँ टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चार वटा रेस्टुरेन्ट, सम्मेलन कक्ष, तीन वटा भीआईपी कक्ष, बाल उद्यान, स्तनपान कक्ष जस्ता सुविधा हुनेछ ।
पूर्वी नेपालको प्रमुख विमानस्थलमध्येको विराटनगरबाट दैनिक २० भन्दा बढी उडान हुँदै आएको छ । विगतमा पहाडी गन्तव्यहरू, तुम्लिङटार, भोजपुर, रुम्जाटार, पोखरा र माउन्टेन फ्लाइटसमेत हुन्थ्यो । विमानस्थलको स्तरोन्नतिपछि बन्द रहेका आन्तरिक उडानलाई पुनः सञ्चालन गर्ने र भारत, बंगलादेश लगायतका छिमेकी देशहरूमा समेत उडान गर्ने योजना प्राधिकरणको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गरी विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न निजी क्षेत्रसँग सहकार्य भइरहेको बताउनुभयो । खासगरी नजिकका छिमेकी मुलुकहरू भारत र बंगलादेशका विभिन्न सहरमा सीधा उडानको सम्भावना रहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस