हिमाल काला देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख घिमिरे

काठमाडौँ, २७ माघ ।
सभामुख देवराज घिमिरेले हिमाल कालादेखिन थाल्नु नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण रहेको बताउनुभएको छ । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उहाँले हिमाल जोगाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो । 
“हिउँले ढाकिने माछापुच्छ्रे हिमाल केवल कालोपत्र जस्तो मात्र देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण हो । यो समस्या केवल माछापुच्छ्रेमै सीमित छैन, सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको सङ्केत हो,” घिमिरेले भन्नुभयो, “यसले पानीका मुहान सुकाउने र मानिस तथा जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरेको छ ।” 
विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरूले अत्यधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको उहाँको भनाइ छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको भन्दै सभामुख घिमिरेले नेपालको वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्नका लागि निरन्तर प्रयासरत रहनुपर्नेमा जोड दिनुभयो ।  
“जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीका सामाना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारको सहकार्य अपरिहार्य छ,” उहाँले भन्नुभयो, “विशेषगरी, जीवनयापन सङ्कट भोगिरहेका समुदायलाई सहयोग पु¥याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनाबद्ध प्रयास आवश्यक छ ।” जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिको भूमिका पनि अपेक्षित रहेको सभामुख घिमिरेको भनाइ छ । उहाँले संसद् र सांसदहरूले जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण पहल गरिरहेको जानकारी गराउनुभयो । 
“क्लाइमेट पार्लियामेन्ट’ जस्ता अन्तर्राष्ट्रिय फोरममार्फत नेपालको संसद् र सङ्घीय संसद्का सदस्यले जलवायु नीति निर्माण, नवीकरणीय ऊर्जाको प्रवद्र्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेका छन्,” घिमिरेले भन्नुभयो, “नवीकरणीय ऊर्जाको प्रवद्र्धन, वातावरणीय कानुन निर्माण तथा हरित बजेट विनियोजनका कार्य संसदमार्फत अघि बढिरहेका छन् ।” ०००००
 

प्रतिकृया दिनुहोस