मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलसँग स्पेसएक्सको छुट्टाछुट्टै सम्झौता

विर्तामोड, २८ फागुन ।
अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा ल्याउन दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एअरटेल र रिलायन्स जिओले स्टार स्पेसएक्ससँग छुट्टाछुट्टै सम्झौता गरेका छन् ।
स्टारलिंक मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा हो । गएको महिना अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबीच भएको भेटमा अन्तरिक्ष, सञ्चार, प्रविधि र नवप्रर्वतनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । मस्कले सन् २०२१ मा नै भारतमा सेवा शुरू गर्न चाहेपनि नियम–कानूनको कठिनाइका कारण ढिलाइ भएको हो ।
स्टारलिंकको सेवा अहिले एक सय वटाभन्दा बढी देशहरूमा उपलब्ध छन् । भुटानमा पनि यसको सेवा छ । परम्परागत ब्रोडब्यान्ड सेवाहरू भूमिगत फाइबर केबल र सेलुलर टावरहरूमा भर पर्छन् भने स्टारलिंकले ‘लो अर्थ अर्बिट’ उपग्रहहरूमार्फत इन्टरनेट पहुँच प्रदान गर्दछ ।
प्रविधि उद्यमी मस्कको भारतमा व्यापारिक रुचि अहिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीमित छ । विद्युतीय गाडी निर्माता टेस्लाले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयारी गरिरहेको छ ।
टेस्लाले गएको महिना नयाँदिल्ली र मुम्बईका लागि स्टोर प्रबन्धक र सेवा प्राविधिकहरूका लागि जागिरको विज्ञापन निकाल्दै भारतमा भर्ती शुरू गर्न थालेको थियो । ०००००
प्रतिकृया दिनुहोस