महिला एशियन कप छनोटमा नेपालको पहिलो खेल जुन २९ मा लाओससँग हुने

झापा, १५ चैत ।
एएफसी महिला एशियन कप २०२६ को छनोटमा नेपालले समूह चरणको पहिलो खेलमा लाओससँग खेल्ने भएको छ ।
एशियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको छनोटको खेलतालिका अनुसार नेपालले पहिलो खेलमा आउँदो जुन २९ मा लाओससँग खेल्ने भएको हो । यस्तै नेपालले दोस्रो खेलमा जुलाई २ मा श्रीलङ्कासँग र तेस्रो तथा अन्तिम खेलमा जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका छ ।
नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहको खेल उज्बेकिस्तानमा हुनेछ । फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन् ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् । प्रतियोगितामा १२ वटा टोली सहभागी हुनेछ । ०००००
प्रतिकृया दिनुहोस