बाँकेका सूचीकृत बेरोजगारद्वारा रोजगारीको माग

नेपालगञ्ज (बाँके), १६ चैत ।
स्थानीय तहमा सूचीकृत भएका करिब आठ सय बेरोजगारले रोजगारीको माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जिल्लाका सात स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि आयोजना गरेको दुई दिने ‘बाँके रोजगार मेला’ मा सूचीकृत बेरोजगारहरूले रोजगारीका अवसर सृजना गर्न माग गरेका हुन् ।
मेलाको पहिलो दिनमा ६ सय बढीले र आज दुई सयले विभिन्न पदमा रोजगारी माग गरेका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले जानकारी दिनुभयो । सङ्घका महासचिवसमेत रहनुभएका उहाँले मेलामा जिल्लाका आठ स्थानीय तहका गाउँटोलबाट बेरोजगारको घुइँचो लागेको बताउनुभयो ।
रोेजगार खोज्ने तीन सय जनाले स्टलमा फारम भरेका छन् । उहाँका अनुसार मेलामा रोेजगारदाताका ३५ स्टल राखिएका छन् । “तीन सय हाराहारीमा रोजगारीका लागि फारम भरेकालाई सङ्घका स्वयंसेवकले सूचीकृत गरेर सम्बन्धित रोजगारदाता कहाँ पठाएका छन्”, संयोजक रानाभाटले भन्नुभयो ।
सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान हुनुका साथै आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्या समाधान गर्न अभियान सञ्चालन गरिने बताउनुभयो । “त्यसका लागि आवश्यक तालिम, प्रशिक्षणका लागि स्थानीय सरकारसँग साझेदारी र सहकार्य गरिनेछ”, उहाँले भन्नुभयो ।
सङ्घले रोजगार मेलामा फारम भरेका व्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने धामीले बताउनुभयो ।
खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनीराम ओलीले गाउँगाउँबाट आएर अवसर खोजी गर्नेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर रोजगारीसँग जोड्न आवश्यक भएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले रोजगारीका लागि आएका सबैलाई आवश्यक सहजीकरण गरेर रोजगारीसँग जोड्नु मेलाको उद्देश्य रहेको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको मेलामा रोजगार सेवाप्रदायक ३५ स्टल छन् । ००००००
प्रतिकृया दिनुहोस