कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ, ५ जेठ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत यसवर्ष ३५४ वटा परियोजनामा अनुसन्धानका काम भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले सोध्नुभएको लिखित प्रश्नको जवाफ दिँदै उहाँले बालीनालीतर्फ १०६, पशुपालनतर्फ ७७, बागवानीतर्फ ७०, बहु–क्षेत्रतर्फ ४१ र मत्स्यपालनतर्फ ३५ वटा परियोजनामा अनुसन्धान भइरहेको जानकारी गराउनुभएको हो ।
यी अनुसन्धान परियोजनाबाट वैज्ञानिकले बालीनालीको जात तथा पशुवस्तुको नश्ल विकास, कृषि प्रविधि विकास, स्रोतसामग्री उत्पादन, स्रोत संरक्षण, प्रविधि हस्तान्तरण तथा सेवा प्रदान र सामाजिक–आर्थिक विश्लेषण तथा कृषि नीतिसम्बन्धी सुझाव प्रदान गर्नेजस्ता काम गर्दछन् । चालु आर्थिक वर्षको अनुसन्धान बजेटको क्षेत्रगत प्राथमिकता बालीनाली ३०, पशुपालन २२, बहुक्षेत्र १७, बागवानी १५, मत्स्यपालन आठ र अन्यतर्फ सात प्रतिशत छ ।
चालु आर्थिक वर्षमा सञ्चालित अनुसन्धान परियोजना अन्तर्गत हालसम्ममा धानको एक, स्याउको तीन, जुनारको चार, ओखरको दुई, कागतीको एक, मेकाडेमीयानटको एक, सुन्तलाको दुई, आभोकाडोको तीन गरी जम्मा १७ जातको पञ्जीकरण प्रस्ताव पेस गरिएकोमा राष्ट्रिय बीउबिजन समितिले स्याउको तीन, सुन्तला जातको दुई र आभोकाडोको तीन गरी जम्मा आठ वटा नयाँ जातको पञ्जीकरण गरिसकेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप आठ जातको पञ्जीकरणका लागि प्रस्ताव पेस गर्ने लक्ष्य रहेको पनि मन्त्री अधिकारीले बताउनुभयो ।
त्यसैगरी, चालु आर्थिक वर्षको अन्त्यसम्ममा अन्नबालीसम्बन्धी २२, बागवानीसम्बन्धी २३, पशुपालनसम्बन्धी १५, मत्स्यपालनसम्बन्धी १०, खाद्यसम्बन्धी दुई, कृषि यन्त्रीकरणसम्बन्धी तीन गरी जम्मा ७५ वटा कृषि प्रविधि सिफारिस गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । चालु आवको अन्त्यसम्ममा विभिन्न बालीनालीको ९०० टन स्रोत बीउ (प्रजनन र मूल) उत्पादन गर्ने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा ३८० टन उत्पादन भइसकेको पनि उहाँले संसद्मा जानकारी गराउनुभयो ।
नार्कलाई अनुसन्धानका लागि करिब ९७ प्रतिशत नेपाल सरकारबाट र बाँकी तीन प्रतिशत दातृनिकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट वार्षिक रुपमा प्राप्त हुने गरेको छ ।
नार्कअन्तर्गतका बागवानी सम्बन्धित अनुसन्धान केन्द्रले बिरुवा उत्पादन गरी सिधै किसानलाई उपलब्ध गराउने गरेको नभई सिफारिस गरिएका उन्नत जातका तरकारी तथा फलफूलका स्रोत बीउ तथा बेर्ना उत्पादन गरी नर्सरी तथा स्रोत केन्द्रहरुलाई उपलब्ध गराउने गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । ती नर्सरी तथा स्रोत केन्द्रले बीज वृद्धि गरी किसानलाई उपलब्ध गराउँछन् ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख स्रोत बेर्ना÷बिरुवा नर्सरी तथा स्रोत केन्द्रलाई उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा १५ हजार ६९२ बेर्ना÷बिरुवा बिक्री÷वितरण गरिसकिएको पनि मन्त्री अधिकारीले बताउनुभयो ।
फलफूलको आयातका सम्बन्धमा मन्त्रालयले वार्षिक र भन्सार विभागबाट नियमित रुपमा तथ्याङ्क राख्ने गरेको उहाँले संसद्मा जानकारी गराउनुभयो । कृषि अनुसन्धान परिषद्मा रहेका केही वैज्ञानिक अध्ययनका लागि बाहिर गएका छन् । करिब १०÷१२ जना लामो समयदेखि नफर्किएको पनि मन्त्री अधिकारीले संसद्मा जानकारी गराउनुभयो ।
बैठकमा सांसद सुवालले फलफूल के, के र कति र कति उत्पादन भएको एवं कृषि वैज्ञानिकको सङ्ख्या कति छ ? भनी प्रश्न गर्नुभएको थियो । ०००००
प्रतिकृया दिनुहोस