सङ्घीय संसद्को ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ परीक्षण
काठमाडौं, ३१ भदौ ।
सङ्घीय संसद् सचिवालयले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सुरु गरेको छ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो ।
सभामुख अर्यालले डिजिटल प्रणाली वर्तमान समयको आवश्यकता भएको बताउँदै संसद्का गतिविधि, विधेयकको अवस्था, सांसदको विवरण, बैठक तथा समितिका सूचना र संसदीय इतिहासका अभिलेख एउटै प्रणालीमा समेटिने बताउनुभयो ।
हाल परीक्षणको चरणमा रहेको प्रणालीलाई आगामी अधिवेशन सुरु हुनुअघि थप परिस्कृत गरिने उहाँले जानकारी दिनुभयो। प्रयोगका क्रममा देखिएका कमी–कमजोरीबारे सुझाव दिन आग्रह गर्दै सभामुख अर्यालले प्राप्त सुझावका आधारमा प्रणालीलाई सरल, सहज र प्रयोगकर्ता–मैत्री बनाइने बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष दाहालले सूचना प्रविधिको विकाससँगै संसद्लाई पनि परिस्कृत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रणाली सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सूचना प्रविधिसम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्लेटफर्ममा सांसदको प्रोफाइल, दल, निर्वाचन क्षेत्र, प्रदेश र सदनअनुसारको विवरण, हाजिरी, बैठकको मिति, समय र कार्यसूची तथा बैठकसम्बन्धी कागजात डिजिटल रूपमा व्यवस्थापन गरिनेछ । सरकारी तथा गैरसरकारी विधेयकको दर्तादेखि पारित हुने अवस्थासम्मको प्रगति अनुगमन गर्न सकिने व्यवस्था पनि प्रणालीमा समेटिएको सचिवालयले जनाएको छ । ०००००






.jpeg)



प्रतिकृया दिनुहोस