रुस–युक्रेनबीच ऊर्जा केन्द्रमा आक्रमण तीव्र, सेन्ट पिटर्सबर्गमा ठूलो ड्रोन हमला
किएभ, २ कात्तिक ।
रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गर्नुभएको छ ।
रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् भने तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ । आक्रमणबाट तेल प्रशोधन केन्द्रलगायत संरचनामा आगलागी हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले जेलेन्स्कीमाथि युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाउनुभएको छ । रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा रोक लगाएको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको हो ।
अमेरिकी प्रतिनिधिसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन रचनात्मक र इमानदार ढङ्गले अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले अमेरिकी तथा युरोपेली साझेदारबाट पनि समान प्रतिबद्धताको अपेक्षा गर्नुभएको छ । वार्तामा रुसी क्षेप्यास्त्रबाट रक्षा गर्न आवश्यक प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
जेलेन्स्कीले रुसले प्रस्तावित ऊर्जा युद्धविराम ७६ पटक उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । जाडो सुरु हुनुअघि युक्रेनी नागरिकलाई ताप र विद्युत् सेवाबाट वञ्चित गर्ने उद्देश्यले रुसले आक्रमण गरिरहेको उहाँको भनाइ छ ।
यता, रुसी अधिकारीहरूले लेनिनग्राद क्षेत्रमा एक सय ४४ वटा युक्रेनी ड्रोन खसालेको बताएका छन् । सेन्ट पिटर्सबर्गमा तेल टर्मिनल, भण्डारण केन्द्र र औद्योगिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ ।
क्रेमलिनले युक्रेनी आक्रमणबाट रुसको युद्ध लक्ष्य परिवर्तन नहुने जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने लक्ष्य दोहो¥याउँदै आउनुभएको छ । दुवै पक्षका ऊर्जा संरचनामाथिका आक्रमणले युद्धको असर नागरिकको दैनिक जीवन र इन्धन आपूर्तिमा समेत परेको छ । ०००००





-(1).jpeg)






प्रतिकृया दिनुहोस