टेस्ला र स्पेसएक्स गाभ्ने मस्कको तयारीपछि विशेष समिति गठन
विर्तामोड, ४ कात्तिक ।
अमेरिकी अर्बपति इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई एकीकरण गर्ने सम्भावनाबारे छलफल अघि बढाउनुभएको छ । त्यसका लागि दुवै कम्पनीमा विशेष समिति गठन गरिए पनि मर्जरको अन्तिम निर्णय भने भइसकेको छैन ।
स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकहरूसँग भएको छलफलमा मस्कले दुवै कम्पनी गाभ्दा पर्याप्त सम्भावना र फाइदा रहेको बताउनुभएको हो । तर, सम्झौता अघि बढाउन दुवै कम्पनीका सेयरधनीको समर्थन आवश्यक पर्ने उहाँले स्पष्ट पार्नुभएको छ । विशेष समितिहरूबीच एकीकरणका सर्तमा सहमति जुट्न बाँकी रहेकाले सम्झौता हुने निश्चितता पनि छैन ।
हाल टेस्लाको बजार मूल्य करिब १५ खर्ब अमेरिकी डलर र स्पेसएक्सको मूल्य करिब २० खर्ब डलर रहेको बताइएको छ । यी दुई कम्पनी गाभिएमा संयुक्त कम्पनीको मूल्य करिब ३५ खर्ब डलर पुग्न सक्ने अनुमान छ ।
मस्कका अनुसार एकीकरणले चिप निर्माण, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर र अन्तरिक्ष प्रविधिमा सहकार्य बढाउन सक्नेछ । टेस्ला र स्पेसएक्सले यसअघि नै संयुक्त रूपमा चिप निर्माण गर्ने उद्देश्यले ‘टेराफ्याब’ परियोजना अघि बढाएका छन् ।
रकेट निर्माण तथा स्टारलिंकमार्फत स्याटेलाइट इन्टरनेट सेवा दिँदै आएको स्पेसएक्सले पछिल्लो समय क्लाउड कम्प्युटिङ व्यवसाय पनि विस्तार गरिरहेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक विवरणअनुसार क्लाउड कम्प्युटिङबाट सात अर्ब ५० करोड डलर र स्टारलिंकबाट पाँच अर्ब २० करोड डलर आम्दानी भएको छ । तर, चालु वर्षमा हालसम्म एक अर्ब १० करोड डलर घाटा बेहोरेको विवरणमा उल्लेख छ ।
मस्कले यसअघि पनि आफ्ना विभिन्न व्यवसायलाई एउटै संस्थागत संरचनाभित्र समेट्ने प्रयास गर्दै आउनुभएको छ । टेस्ला र स्पेसएक्सबीच एकीकरण भएमा विद्युतीय सवारीसाधन, अन्तरिक्ष प्रविधि, इन्टरनेट, चिप निर्माण र कृत्रिम बुद्धिमत्तासम्बन्धी व्यवसायबीचको सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ । ०००००




.jpeg)

-(1).jpeg)





प्रतिकृया दिनुहोस