एनपीएलबाट डेढ अर्ब रुपैयाँको आर्थिक कारोबार हुने अनुमान

बिर्तामोड, ९ कार्तिक । 
नेपाल प्रिमियर लिग अर्थात् एनपीएल क्रिकेटको तेस्रो संस्करणमा करिब एक अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार प्रायोजन, टिकट बिक्रीलगायत स्रोतबाट करिब ७० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ । टोलीहरूले पनि सोही हाराहारीमा खर्च गर्ने भएकाले कुल कारोबार डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको हो ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । प्रतियोगिताको मिडिया तथा टिकटिङ अधिकार बिक्रीबाट ३३ करोड ३३ लाख रुपैयाँ सुनिश्चित भएको क्यानले जनाएको छ ।
तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ४० लाख रुपैयाँले बढाइएको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलको बढ्दो व्यावसायिक आकार, पुरस्कार राशिमा भएको वृद्धि र विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटको विकासलाई प्रतिबिम्बित गरेको बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस