वीरगञ्ज सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न निर्देशन 

वीरगञ्ज, १० कात्तिक । 
प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीका प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
सभापति गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गर्दै सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउन जोड दिनुभएको हो ।
अनुगमनका क्रममा उहाँहरूले बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था, सञ्चालन प्रक्रिया तथा सेवा प्रवाहमा देखिएका समस्या र सुधारका सम्भावनाबारे जानकारी लिनुभएको थियो ।
सभापति गजुरेलले रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालनलाई व्यवस्थित बनाउने र मालसामान ढुवानी प्रक्रियालाई सहज बनाउने विषयमा आवश्यक निर्देशन दिनुभएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा औसतमा मासिक एक सय १० वटा मालवाहक रेल आउने गरेका छन् भने एकीकृत जाँचचौकीबाट दैनिक औसत आठ सय मालवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
नेपालमा रासायनिक मल आपूर्तिका लागि रेलमार्ग महत्त्वपूर्ण भएकाले मल आयातसँग सम्बन्धित भन्सार प्रक्रिया सहज र व्यवस्थित बनाउन पनि सभापति गजुरेलले सुझाव दिनुभएको छ । ०००००

प्रतिकृया दिनुहोस