सर्बियामा सम्पन्न आकस्मिक आमचुनावमा विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ राजनीतिक दल ‘स्टुडेन्ट लिस्ट’ विजयी

विर्तामोड, ९ कात्तिक ।
सर्बियामा सम्पन्न आकस्मिक आमचुनावमा विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ राजनीतिक दल ‘स्टुडेन्ट लिस्ट’ ले जीत हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार ‘स्टुडेन्ट लिस्ट’ ले झन्डै ५२ प्रतिशत जनमत प्राप्त गर्दै संसद्का २५० मध्ये १३६ भन्दा धेरै सिट सुरक्षित गरेको छ ।
योसँगै सर्बियामा लामो समयदेखि सत्तामा रहनुभएका दक्षिणपन्थी लोकतान्त्रिक नेता अलेक्जेन्डर भुचिचले हार स्वीकार गर्नुभएको छ । राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न शहरमा हजारौँ नागरिक सडकमा निस्किएर नाचगान गरी खुशीयाली मनाएका छन् ।
भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले दुई वर्षदेखि चलिरहेको सरकार विरोधी आन्दोलनको दबावबीच आकस्मिक चुनाव गराएको थियो ।
सन् २०२४ मा नोभी साद शहरको रेल्वे स्टेशनको छतको छाना खस्दा १६ जनाको ज्यान गएपछि आन्दोलन शुरू भएको थियो । यस घटनालाई भ्रष्टाचार र सरकारी लापर्बाहीको प्रतीकका रूपमा लिइएको थियो ।
चुनावमा भ्रष्टाचार विरोधी अभियान चलाएको विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ ले सरकार विरोधी मतदातालाई आकर्षित गरेको थियो । यस समूहले संसद्का २५० सिटका लागि चिकित्सक, कलाकार, प्राध्यापक तथा खेलकुद क्षेत्रका व्यक्तिसहित विभिन्न पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएको थियो ।
विद्यार्थी आन्दोलनले भ्रष्टाचारमा संलग्न अधिकारीमाथि कारबाही, सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य तथा सरकारी प्रसारणमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ ।
भुसिच दुई कार्यकाल राष्ट्रपति भइसकेकाले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न अयोग्य हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नो पार्टीलाई जिताएर फेरि प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्थ्यो । सन् २०१७ मा उहाँले प्रधानमन्त्री पद छाड्नुभएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस