चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि वर्षा र हिमपात हुने 

काठमाडौँ, ९ कात्तिक । 
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी बिहीबारदेखि नेपालमा वर्षा र हिमपातको गतिविधि बढ्ने भएको छ । विशेषगरी शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने जनाएको छ ।
महाशाखाका अनुसार कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा हुनसक्ने तथा लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ ।
सम्भावित वर्षाले धानबाली भित्र्याउने कार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ । पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसममा सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ ।
वर्षा र हिमपातका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस