आधुनिक कृषि यन्त्रले सहज बनाउँदै ग्रामीण खेतीपाती
बाँके, १० कात्तिक ।
कृषि क्षेत्रमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग बढेसँगै ग्रामीण क्षेत्रको खेतीपाती सहज बन्दै गएको छ । विशेषगरी धान र गहुँ भित्र्याउने समयमा जनशक्तिको अभाव झेल्दै आएका किसानलाई थ्रेसर, रिपर र मिनि टिलरजस्ता उपकरणले राहत दिएका छन् ।
बाँकेको नेपालगञ्ज क्षेत्रमा किसानले धान झार्न थ्रेसर र खेत जोत्न ट्र्याक्टरको प्रयोग बढाएका छन् । यसले समय र श्रम बचत गर्नुका साथै उत्पादन लागत घटाउन सहयोग गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ का किसान मोहम्मद इस्लाम खाँका अनुसार पहिले खेताला लगाएर धान झार्नुपर्ने अवस्था थियो । अहिले थ्रेसरको प्रयोगले पाकेको धान छिटो र सहज रूपमा भित्र्याउन सकिएको छ ।
थ्रेसर सञ्चालक अमजत अली शेखले धानको सिजनमा मेसिन चलाएर सबै खर्च कटाउँदा करिब एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धान झार्न सकिन्छ ।
किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीका अनुसार रिपरले एक घण्टामा करिब १० देखि १५ कट्ठासम्म धान काट्न सक्छ । मिनि टिलरको प्रयोगले पनि कम जनशक्तिमा खेत तयार पार्न सहज भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले आधुनिक प्रविधिको प्रयोगले किसानको श्रम घटाउनुका साथै बालीको नोक्सानी कम गर्न र उत्पादन बढाउन सहयोग पुगेको बताउनुभयो । कृषि उपकरण खरिदमा अनुदान र सहुलियतसँगै मेसिन सञ्चालनको सीप, मर्मतसम्भार तथा वित्तीय पहुँच विस्तार गर्न सके कृषि क्षेत्रलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउन सकिने सरोकारवालाको भनाइ छ । ०००००










-(1).jpeg)

प्रतिकृया दिनुहोस