मंसिर २ र ३ गते हुने नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीब्र
काठमाडौँ, १० कात्तिक ।
नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ ।
भेलाको तयारीका लागि पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको छ ।
बैठकमा पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल र रघुजी पन्त, महासचिव शङ्कर पोखरेल तथा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा पार्टीलाई सक्रिय बनाउँदै एमालेको प्रभाव र सामथ्र्य प्रदर्शन गर्ने गरी भेला सफल पारिने उल्लेख गर्नुभयो ।
२०८२ सालको निर्वाचन परिणामलाई क्षणिक धक्काका रूपमा लिएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्दै आगामी राजनीतिक चुनौतीको सामना गर्न पार्टी पङ्क्तिलाई तयार पार्नुपर्ने उहाँको भनाइ छ ।
महासचिव शङ्कर पोखरेलले भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन र प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गर्नुभयो ।
सङ्गठन विभाग प्रमुख ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित तीन हजार एक सय ६४ जनाको सहभागिता रहनेछ । ०००००







-(1).jpeg)

प्रतिकृया दिनुहोस