भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन
भद्रपुर, १६ कात्तिक ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा भइरहेको ढिलाइ स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम तीव्र बनाउन निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँग भएको अन्तरक्रियामा मन्त्री रावलले हालसम्मको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो ।
सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उहाँले कानुनी तथा नीतिगत कठिनाइ भए सरकारले सहजीकरण गर्ने बताउनुभयो । अब प्रक्रियागत अल्झन देखाएर काममा ढिलाइ नगर्न र परिणाम देखिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल र रमेश प्रसाईंले भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो । जनताको विश्वास फर्काउन राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले थप जनशक्तिसहित टोली परिचालन गरिएको जानकारी दिँदै पुर्जा वितरणलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला नापी कार्यालय झापाका प्रमुख एवं जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव शिवप्रसाद लम्सालका अनुसार झापामा जग्गा प्राप्तिका लागि ६० हजार दुई सयभन्दा बढीले आवेदन दिएका छन् । नयाँ समिति गठन भएपछि हालसम्म ७४ जनालाई मात्रै जग्गाधनी पुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । ०००००








.jpeg)


प्रतिकृया दिनुहोस