कांग्रेसका अग्रज नेताहरूद्वारा कृष्णप्रसाद सिटौलालाई मूलधारमा फर्किन आग्रह

विर्तामोड, १५ कात्तिक ।
नेपाली कांग्रेसका अग्रज नेताहरूले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पार्टीको मूलधारमा फर्किएर अभिभावकीय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा क्षेत्र क र ख को संयुक्त पद हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र कोशी प्रदेश सभापति उद्धव थापा लगायतका नेताहरूले सिटौलालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको हो ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिले पार्टी नेतृत्वमा युवा पुस्ताको भूमिका बढाउनुपर्ने सन्देश दिएको उल्लेख गर्दै नेताहरूले पुरानो पुस्ताले मात्रै पार्टी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य शिवाकोटीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तथा कांग्रेसको संगठन निर्माणमा सिटौलाको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि आफू त्यसको पक्षमा उभिएको उल्लेख गर्दै उहाँले समयको माग बुझेर पार्टीको मूलधारमा फर्किन सिटौलालाई आग्रह गर्नुभयो ।
कोशी प्रदेश सभापति उद्धव थापाले पार्टी छाडेर बाहिर रहेका नेताहरूलाई पुनः कांग्रेसमा फर्किएर संगठनलाई अभिभावकत्व प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले एउटै नाम, झण्डा र चुनाव चिह्नमा दुईवटा पार्टीको अभिलेख नरहने भन्दै गगनकुमार थापा नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरी निर्वाचन आयोगमा अभिलेख अद्यावधिक गराइसकेको बताउनुभयो ।
झापा सभापति देउकुमार थेवेले संगठनलाई चलायमान बनाउन टोल र वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । उपसभापति केशवराज पाण्डेले पार्टीका गतिविधिलाई सामाजिक सेवासँग जोड्दै टुटेका मनहरू जोड्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गत असोज १० र ११ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।
क्षेत्रीय सभापतिको १० वर्षे कार्यकाल पूरा गर्नुभएका खगेन्द्र मैनालीले नवनिर्वाचित सभापति हेमराज खरेललाई क्षेत्रीय समितिको खाता र माइन्युट हस्तान्तरण गर्नुभयो ।
यस्तै, प्रदेशसभा क्षेत्र क का सभापति लक्ष्मीप्रसाद आचार्यले नवनिर्वाचित सभापति मनोज बुढाथोकीलाई एक लाख ५० हजार रुपैयाँसहित कोषको जिम्मेवारी हस्तान्तरण गर्नुभयो भने प्रदेशसभा क्षेत्र ख का सभापति किरण श्रेष्ठले नवनिर्वाचित सभापति जीवन भण्डारीलाई खाता र माइन्युट बुझाउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस