नागढुङ्गा सुरुङमार्गको पहिलो दिनमै ११ लाख ७० हजार रुपैयाँ टोल शुल्क संकलन
काठमाडौं, १६ कात्तिक ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा टोल शुल्क लागू भएको पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आइतबार करिब सात हजार पाँच सय सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार कात्तिक १५ गतेदेखि टोल शुल्क संकलन सुरु गरिएको हो । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको पहिलो दिनको सङ्ख्या आयोजनाले गरेको प्रारम्भिक अनुमानभन्दा बढी हो ।
आयोजनाले दैनिक औसत पाँच हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरेको थियो । तर, सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप आठ हजार पाँच सय हाराहारी रहेको छ । सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ ।
सुरुङमार्गको शुल्क निर्धारण गर्दा मुख्य रूपमा इन्धन बचतबाट हुने आर्थिक लाभलाई आधार बनाइएको आयोजनाले जनाएको छ । काठमाडौं प्रवेश गर्दा उकालोका कारण इन्धन बढी खपत हुने भएकाले प्रवेश र फर्कने सवारीसाधनको शुल्क फरक निर्धारण गरिएको छ ।
हाल हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र फर्कँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस तथा मिनी ट्रकले क्रमशः ११५ र ८० रुपैयाँ, बस तथा ठूला ट्रकले २६० र २०० रुपैयाँ तथा मल्टी एक्सल ट्रकले ६०० र २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । मोटरसाइकललाई भने सुरक्षाका कारण सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ ।
टोल संकलनमा हुने जाम कम गर्न नगद, क्यूआर र आरएफआईडी प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । आरएफआईडी प्रणालीबाट एउटा सवारीसाधन आठदेखि १० सेकेन्डमै पार गराउन सकिने आयोजनाको भनाइ छ ।
यस्तै, सुरुङमार्ग नियमित प्रयोग गर्ने स्थानीय तथा अन्य सवारीसाधनलाई शुल्कमा छुट दिने विषयमा पनि छलफल भइरहेको छ । एम्बुलेन्सलाई भने सुरुदेखि नै शुल्क छुट दिइएको छ ।
सुरुङमार्गभित्र दुर्घटना वा आपत्कालीन अवस्था आए तत्काल उद्धार गर्न १६ जना जनशक्ति, दुई वटा एम्बुलेन्स र दुई वटा टोइङ गाडीसहितको टोली २४ सै घण्टा परिचालन गरिएको आयोजनाले जनाएको छ । ०००००







.jpeg)


प्रतिकृया दिनुहोस