साइबर चोरीको अमेरिकी आरोप उत्तर कोरियाद्वारा अस्वीकार 

सियोल, १७ कात्तिक ।
उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट ६ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको आरोप अस्वीकार गरेको छ । आरोपलाई राजनीतिक उक्साहट भन्दै खण्डन गरेको उत्तर कोरियाले क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइलसमेत परीक्षण गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले साइबर चोरीमा उत्तर कोरियाको संलग्नता रहेको आरोपलाई गम्भीर राजनीतिक उक्साहट भन्नुभएको छ । एफबीआईले शनिबार उक्त चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ नामक ह्याकिङ समूह संलग्न रहेको जनाएको थियो ।
चोरी भएको भनिएको रकम उत्तर कोरियाको अनुमानित वार्षिक कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ बराबर रहेको विज्ञहरूले बताएका छन् । यस घटनापछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले साइबर सुरक्षा प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार सोमबार नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरिएको छ । उक्त मिसाइलको वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र ध्वस्त पार्न सक्ने र लक्ष्यमा ठाडो प्रहार गर्ने क्षमता सुधारिएको जनाइएको छ । 
दक्षिण कोरिया र अमेरिकी सैन्य संरचनामाथि प्रहार गर्ने क्षमता प्रदर्शन गर्नु तथा आफ्नो सैन्य प्रतिरोध बलियो बनाउनु परीक्षणको उद्देश्य रहेको विज्ञहरूले बताएका छन्। दक्षिण कोरियाली सेनाले परीक्षणबारे विस्तृत जानकारी सार्वजनिक नगरे पनि दुवै देशले मिसाइलका विशेषता विश्लेषण गरिरहेको जनाएको छ । ००००००
 

प्रतिकृया दिनुहोस