नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारकको अभिलेखीकरण
काठमाडौँ, २३ कात्तिक ।
नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको नेपाल सम्पदा अभिलेखीकरण परियोजनाले आठ वर्षमा दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत अभिलेखीकरण गरेको छ ।
सन् २०१८ मा सुरु भएको परियोजनाले दुई हजार पाँच सयभन्दा बढी शिलालेखको विवरण सङ्कलन गर्नुका साथै विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेखसमेत तयार पारेको छ । सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र डिजिटल डेटाबेसमा समावेश गरिएको छ ।
जर्मनीको हाइडेलबर्ग विश्वविद्यालय र नेपालका विभिन्न संस्थाको सहकार्यमा सञ्चालित परियोजनामा बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
परियोजना सम्पन्न भएपछि डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख र व्यवस्थापन सराफ फाउन्डेसनमार्फत नेपाल आर्किटेक्चर आर्काइभले गर्ने भएको छ ।
परियोजना प्रमुख प्राध्यापक डा. क्रिष्टियाने ब्रोसियसले डिजिटल अभिलेखले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदाप्रेमीलाई अध्ययन तथा संरक्षणका लागि महत्वपूर्ण आधार उपलब्ध गराउने बताउनुभयो । विशेषगरी बाढीबाट क्षति पुगेका नुवाकोटका ऐतिहासिक संरचनालाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्न अभिलेख उपयोगी हुने उहाँको भनाइ छ ।
सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्दै अनुसन्धानकर्ता तथा सम्पदा क्षेत्रमा कार्यरत विज्ञलाई सहज पहुँच उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच, जर्मनीबाट फिर्ता ल्याइएका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ र यात्रा संस्मरणलगायत सामग्री जर्मनीमा संरक्षण, डिजिटलाइजेसन र सूचीकरणपछि नेपाल ल्याइएको हो ।
सम्पदा अभिलेखीकरण र ऐतिहासिक दस्तावेजको स्वदेश फिर्तीले नेपालको इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको अध्ययन तथा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । ०००००










प्रतिकृया दिनुहोस