रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै
रसुवा, २५ कात्तिक ।
रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा रहेको नागथली गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्दछ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले भरिएको यो क्षेत्र पदयात्रा तथा हिमाली दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ ।
नागथलीमा प्राचीन गुम्बा, नागको थान, गुरु रिम्बोर्छेको पैतालाको डोब, ढुङ्गे गुफा तथा धार्मिक महत्वका विभिन्न स्थल रहेका छन् । यहाँबाट गणेश हिमालसहितका हिमशृङ्खला र हिमनदीको मनमोहक दृश्य देख्न सकिन्छ । लालीगुँरासका वन, चौँरी तथा याकका खर्क र तामाङ, शेर्पा तथा तिब्बती समुदायको मौलिक संस्कृति पनि यहाँका आकर्षण हुन् ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि बन्द भएको आवागमन स्थानीयको श्रमदानमा काठेपुल निर्माण भएपछि पुनः सञ्चालनमा आएको छ । सडक अवरुद्ध रहेकाले हाल पर्यटकले स्याफ्रुबेँसीदेखि पैदलयात्रा गरेर नागथली पुग्नुपर्ने अवस्था छ ।
गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामाका अनुसार पर्यटकको आगमन बढेसँगै पहिले एउटा मात्र रहेको होटलको सङ्ख्या बढेर अहिले ६ वटा पुगेको छ । रसुवा–नुवाकोट पर्यटन समाजले पनि नागथलीको पदयात्रा तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको छ । ०००००










प्रतिकृया दिनुहोस