खराब कर्जा असुलीमा विशेष ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन 

काठमाडौं, ३० कात्तिक ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले वित्तीय तथा आर्थिक अनुशासन कायम राख्दै अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीनबुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो ।
बैंकका कामकारबाही पारदर्शी बनाउन, संस्थागत कमजोरी सुधार गर्न र तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । डिजिटल बैंकिङ विस्तार, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवद्र्धन र वित्तीय साक्षरता अभिवृद्धिमा पनि बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपाल बैंकले बचत संस्कृतिको विकास, पुँजी निर्माण तथा औद्योगिक र व्यापारिक क्षेत्रको विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
उहाँका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत रहेको छ भने ग्राहक सङ्ख्या २९ लाख २४ हजार पुगेको छ ।
बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको छ । हाल बैंकका २५० वटा एटीएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १० लाख पुगेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस