एसियाली पूर्वाधार लगानी बैंकसँग सहुलियतको प्रावधान राख्न प्रधानमन्त्री दाहालको माग

विर्तामोड, १२ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी)लाई आग्रह गर्नु भएको छ । 
नेपाल भ्रमणमा रहनुभएका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधि मण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपाल जस्ता मुलुकलाई कठिन भइरहेको बताउनुभएको हो । 
उहाँले भन्नुभयो, ‘नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन । बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएकानाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’
सरकार उच्च आर्थिक बृद्धि मार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री दाहालले यो प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीतिपुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । 
नेपालमा हाल एआइआइबीको लगानी ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी आग्रह गर्नुभयो । 
उहाँले अघि भन्नुभयो, ‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने ऐतिहासिक सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्ग प्रशस्त गरेको छ । ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्भावना छ, हामीले आगामी महिना लगानी सम्मेलन गर्दै छौँ, त्यसमा एआइआइबीले उच्चतहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु ।’
नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस