कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव ‘टेबुल’ 

विर्तामोड, ६ बैशाख ।

केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् । 
संकल्प प्रस्तावका प्रस्तावक एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संसद्मा प्रस्ताव टेबुल गर्दै भन्नुभयो, ‘मुख्यमन्त्री कार्कीले समर्थन गुमाइसकेका कारण राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुको विकल्प छैन ।’
प्रस्तावको समर्थकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल हुनुहुन्छ । उहाँहरुले पनि मुख्यमन्त्री कार्की अल्पमतमा परिसकेकाले राजीनामा दिनु पर्ने जिकिर गर्नुभयो ।
एमाले र माओवादीका सांसदको माग बमोजिमा प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा प्रदेशसभामा आज विशेष अधिवेशन बसेको हो । करिब ५ महिनापछि पहिलो पटक प्रदेशसभा बसेको हो । प्रदेश प्रमुख खापुङले गत पुस २५ मा अधिवेशन अन्त्य गरेका थिए । एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाको १ गरी ५८ सांसद विपक्षी बेञ्चमा बसेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेञ्चमा बसेका थिए । सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित छन् । विपक्षमा भने ५२ जनाको उपस्थिति छ । सत्ता पक्षका ९ र विपक्षका ६ सांसद अनुपस्थित थिए ।
यसैबीच, एमाले र माओवादी केन्द्रले संकल्प प्रस्तावको पक्षमा मत गर्न सांसदहरुलाई ‘ह्वीप’ लगाएका छन् । भोलि शुक्रबार संकल्प प्रस्ताव निर्णयार्थ संसद्मा पेस हुँदैछ ।
मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव पारित भए पनि पदबाट राजीनामा दिनुपर्छ भन्ने कुनै बाध्यता नभएको दोहो¥याउनुभएको छ । ००००००
 

प्रतिकृया दिनुहोस