मनसुन शुरु भएयता अहिलेसम्म ८० जनाको मृत्यु 

विर्तामोड, २५ असार ।

देशका विभिन्न ठाउँमा बाढी÷पहिरोलगायत विपदका घटनामा परेर मनसुन शुरु भएयता अहिलेसम्म ८० जनाले ज्यान गुमाएका छन् । 
प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा गरी ८० जनाको ज्यान गएको हो ।
पछिल्लो पटक रुकुमपूर्वमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–१ दल्ली गैरामा गएराति पहिरोले सल्ली बिसौनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परि कर्णबहादुर बुढा, गम्भा बुढा र तीलसरा बुढा घाइते हुनुभएको छ ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी आठ वर्षका रुपकला मगरको ज्यान गएको छ । ४० वर्षीया हीरामाया मगर र उहाँका सात वर्षीय छोरा योगेश घाइते हुनुभएको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ, अरू पाँच घर उच्च जोखिममा छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि पाँच हजार ४१ जना प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले ४१ वटा पुलमा क्षति गरेको छ । कतिपय पुल बाढीले बगाएको छ । एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ । ०००००

प्रतिकृया दिनुहोस