कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापाले जित्यो

विर्तामोड, २५ असार ।

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । 
झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले एक लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफरले उत्कृष्ट खेलाडी भइन् । उनले सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध ६ गोल गरिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । 
यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए । उनीहरुले जनही तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गर्नुभयो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको २० लाख रुपैयाँ सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेल मैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । ००००००
 

प्रतिकृया दिनुहोस