सत्तामा भइरहेको मोलमोलाइ र अस्थिरता रोक्नका लागि कांग्रेस र एमाले मिलेको हो : अध्यक्ष ओली

विर्तामोड, २६ असार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भइरहेको मोलमोलाइ र अस्थिरता रोक्नका लागि कांग्रेस र एमाले मिलेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सङ्घीय सरकारमा पनि अनावश्यक मोलमोलाइ भइरहेको र यसको असरले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, मोलमोलाइ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रम बढेकाले त्यसलार्य रोक्न एमाले र कांग्रेस मिलेको बताउनुभयो ।
बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे जानकारी गराउँदै उहाँले एमाले र नेपाली कांग्रेस मिल्दा अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, बार्गेनिङ गर्ने, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो ।  विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, नागरिकका आवश्यकतालाई केन्द्र भागमा नराख्ने काम भयो । यसलाई रोक्न एमाले कांग्रेससँग मिलेको हो ।’
अध्यक्ष ओलीले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको भन्दै अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताउनुभयो । राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उहाँको भनाइ छ । ००००००
 

प्रतिकृया दिनुहोस