सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्री ओलीको उद्घोष  

बिर्तामोड, १७ साउन । 
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’ राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । 
नेकपा एमालेका नेताहरुको जिम्मेवारीको व्यापक हेराफेरी गर्न सचिवालयको बैठक आज ११ बजे बस्ने भएको हो ।
पार्टीले गतवर्ष असारमा नेताहरुलाई एकै पटक साविक भूगोल र विभागमा भन्दा फरक भूगोल र विभागमा जिम्मेवारी दिएर पठाएको थियो । जेठ महिनासम्ममा जिल्ला वा सो भन्दा मुनीका सबै कमिटीहरुको अधिवेशन गरिसक्नु पर्ने कार्यादेश सहित फरक भूगोलमा खटाइएका नेताहरुलाई आज पुरानै भूगोलमा फर्काउने तयारी छ । सचिवालयका एक नेताका अनुसार सचिवालयको अघिल्लो बैठकले नै नेताहरुको जिम्मेवारी हेराफेरीको सुची बनाइसकेको छ । तर यसैबीचमा पार्टी सरकारमा गएको र मन्त्री भएका नेताहरुलाई भूगोल र विभागको जिम्मेवारीबाट अलग गर्ने नीति लिइएकोले उक्त विषयमा निर्णय गर्न केही ढिलाइ भएको थियो । आजको बैठकले केही केन्द्रीय विभागका नेताहरुलाई यथावत जिम्मेवारीमा राख्ने, मुख्यमन्त्री, मन्त्री भएका नेताहरुलाई भूगोलको जिम्मेवारीबाट अलग गर्ने, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्जहरु तोक्नेछ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार बैठक विहान ११ बजे होटल बसेरामा बस्नेछ । ०००००००
 

प्रतिकृया दिनुहोस