विश्वभरका ४० करोड मानिस लामो समयको कोभिडबाट पीडित रहेको अध्ययन प्रतिवेदन
विर्तामोड, २७ साउन ।
विश्वभर ४० करोड जना मानिसले कोभिड–१९ का कारण लामो समयसम्म स्वास्थ्य समस्या भोगिरहेको पाइएको छ ।
स्वास्थ्य सेवा र काममा फर्कन नसक्ने विरामीहरूका कारण हरेक वर्ष १० खर्ब रुपैयाँ बराबरको रकम नोक्सानी भइरहेको पनि देखिएको नेचर मेडिसिन जर्नलको रिपोर्टलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस्तै विश्वव्यापी रूपमा लगभग ६ प्रतिशत वयस्कलाई लामो समयसम्म कोभिड–१९ भइरहेको पनि खबरमा उल्लेख छ ।
धेरै मानिस पूर्णरूपमा निको नभएका र यसको उपचार सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक रहेको देखिएको छ । कोभिड सङ्क्रमणपछि केही हप्ता, महिना वा वर्षसम्म पनि लगातार स्वास्थ्य समस्याहरू देखिइरहेका छन् । कोभिड–१९ लामो समयसम्म रहेमा मुट, स्नायु प्रणाली, प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली र पाचन प्रणालीसहित लगभग हरेक अङ्ग र प्रणालीलाई असर गर्छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको सर्वेक्षणले गएको मार्चसम्म ६ दशमलव ७ प्रतिशत अमेरिकी वयस्क अझै पनि कोभिडको समस्याबाट पीडित रहेको देखाएको छ । लामो समयको कोभिडले व्यक्तिगत जीवनमा विनाशकारी प्रभाव पार्न तथा स्वास्थ्य प्रणाली र अर्थव्यवस्थामा पनि ठूलो प्रभाव पार्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
सङ्क्रमित हुनुअघि खोप लगाएका वा सङ्क्रमित हुँदा एन्टिभाइरल सेवन गरेका मानिसहरूमा लामो समयसम्म कोभिडको जोखिम कम देखिएको छ । तर कोभिडबाट पुनः सङ्क्रमित भएका व्यक्तिहरू बढी जोखिममा रहेका छन् ।
धेरै अध्ययनका अनुसार लामो समयसम्म कोभिड भएका ७ देखि १० प्रतिशत मानिस मात्र दुई वर्षपछि पूर्णरूपमा निको भएका छन् । तर केहीलाई मुटु रोग, मधुमेह र थकान जीवनभर रहन सक्छ । ००००००
प्रतिकृया दिनुहोस