बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु 

विर्तामोड, १७ भदौ ।

बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो ।
अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप मलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिश्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक पनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरिने बिर्तामोड नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । 
६ सय ७९ मिटर कालोपत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको हो । ठेक्का सम्झौता अवधि आगामी असोज ३० गतेसम्म छ ।
सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् ।
आगामी सोमबार सम्ममा ३ वटै सडकको कालोपत्रे गर्ने काम सम्पन्न हुने बिर्तामोड नगरपालिकाका सव– ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस