स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल हुँदैन : प्रधानमन्त्री ओली

विर्तामोड, १८ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताउनुभएको छ । उहाँले सय दिन पुरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न नेताहरूलाई निर्देशन दिनुभयो ।
प्रतिपक्ष माओवादी केन्द्रका नेताहरुले कांग्रेस एमाले गठबन्धनप्रति प्रश्न गरिरहेका बेला अध्यक्ष ओलीले सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि यसले सचेततापूर्वक काम गरिरहेको बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा आजदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताउनुभयो ।
‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘यो सरकार बनेदेखि सर्वसाधारणमा विश्वास बढेको छ । दुई दलबीच भएको सहमति अनुसार सरकार आफ्नो काममा प्रतिबद्ध छ ।’ उहाँले कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छट्पटी हो’, प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको भनाइ थियो, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’
एमालेविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले घेराबन्दी गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टीले सन्तुलित ढंगले कदम चाल्ने र त्यही अनुसार काम गर्न पोलिटब्युरो सदस्यलाई निर्देशन दिनुभयो ।
‘सबै घेराबन्दी तोड्दै एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित रहेको छ । यसमा सरकार र पार्टीको तर्फबाट पहल गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘सरकारले सय दिन पुरा नगर्दै घेराबन्दी गर्ने प्रयास भइरहको छ ।’
बिहीबार सचिवालयको बैठकमा पनि ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताउनुभएको थियो ।
उहाँले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताउनुभएको थियो ।
यसैबीच,
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताउनुभएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आज पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताउनुभएको हो । ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै लड्ने हो । त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्छ’, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक जना पोलिट्ब्यूरो सदस्यले भन्नुभयो । ००००००

प्रतिकृया दिनुहोस