विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन 

विर्तामोड, २१ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक २४ हजार रुपियाँ अनुदान दिन सरकारले ६० करोड बजेट अनुदान दिइरहेको बताउनुभयो । 
“दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैर आवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैर आवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५० करोड रकम विनियोजन भएको छ” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । 
यसैगरी उहाँले शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति विकट हिमाली जिल्लाका विद्यार्थी लगायत सातवटा लक्षित समूूहका ११ हजार चारसय विद्यार्थीका लागि मासिक पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको बताउनुभएको छ । “उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस