इटहरीको राष्ट्रिय जागृतिलाई हराउँदै एनआरटी झापा कप २०८१को फाइनलमा प्रवेश 

बिर्तामोड, ६ पुस ।

न्यूरोड टिम (एनआरटी) प्रथम झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा हराउँदै एनआरटी फाइनलमा पुगेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । एनआरटीले राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले हरायो ।
पहिलो सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा पुगिसकेको छ । अब पर्सि सोमवार न्यूरोड टिम (एनआरटी) र  चर्च ब्वाइजले उपाधिका लागि खेल्नेछन् ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक विशाल सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।  
प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । 
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ । ००००००
 

प्रतिकृया दिनुहोस