सभामुख घिमिरेद्वारा विकास आयोजनाको निरीक्षण 

विर्तामोड, ४ मंसिर ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले आज झापा निर्वाचन क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजनाको निरीक्षण गर्नुभएको छ । मदन भण्डारी राजमार्गलगायत ठूला आयोजनासमेतको निरीक्षण गरेपछि उहाँले बजेट अभावमा विकास आयोजना प्रभावित बताउनुभयो ।
“योजना धेरै परेका रहेछन्, तैपनि चित्तबुझ्दो अवस्था देखिएन,” झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सभामुख घिमिरेले विकास आयोजनाको निरीक्षणपछि भन्नुभयो, “संसद्को सभामुखको रूपमा विधि निर्माणमा सम्पूर्ण शक्ति लगाउँदै आएको छु । तथापि झापा क्षेत्र नं २ को विकासमा मेरो निरन्तर चासो र प्रयास हुनेछ ।” मुलुकको शिथिल अर्थतन्त्रको असर विकास निर्माणमा परेको जनाउँदै उहाँले काठमाडौँमा धेरै समय बिताउनुपर्ने बाध्यता रहे पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले पूर्वीसीमा मेचीदेखि महाकालीसम्म जोड्ने निर्माणाधीन मदन भण्डारी राजमार्गको अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर र इलामको रोङ खण्डको निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा उहाँलाई प्रदेश सांसद् चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोमदेन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा र आयोजनाका अधिकारीले मदन भण्डारी राजमार्गको प्रगति र अवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।
सभामुख घिमिरेले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी राजमार्गको निर्माणको गति सुस्त भएकामा चिन्ता व्यक्त गर्दै बजेट निकासा र प्राविधिक समस्या समाधानका लागि मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने बताउनुभयो ।
अर्जुनधारा–११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने नौ किलोमिटर सडक, अर्जुनधारा–८ स्थित टोपीचोकलगायत सडक आयोजनाको निरीक्षण गर्दै उहाँले निर्माण पक्षलाई सडकको गुणस्तर कायम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो । सभामुखले उत्तरी झापाको हात्ती प्रभावित बस्तीको निरीक्षण क्रममा स्थानीयबासीसँग अन्तरक्रिया गर्नुभएको थियो भने हात्ती नियन्त्रणका लागि सरकारले निर्माण गरेको विद्युतीय घेराबेरा परियोजनाको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
आइतबार गृह जिल्ला झापा आइपुग्नुभएका उहाँले पहिलो दिन बिर्तामोड र कनकाई क्षेत्रको विकास आयोजनाको निरीक्षण गर्नुभएको थियो । दोस्रो दिन सोमवार उहाँले सुपारी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको थियो भने चिया उद्योगीसँग चिया क्षेत्रका समस्या बारेमा निवासमै छलफल गर्नुभएको थियो । ००००००
 

प्रतिकृया दिनुहोस