जातीय क्षेत्रीय मोर्चा सक्रिय बनाउने प्रचण्डको प्रस्ताव 

विर्तामोड, २१ पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव अगाडि सार्नु भएको छ ।
माओवादी केन्द्रको आजबाट काठमाडौंमा सुरु केन्द्रीय समितिको विस्तारित बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दैै प्रचण्डले युद्धकालीन समयमा जस्तै जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकोमा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ,’ सम्बोधनको क्रममा प्रचण्डले भन्नुभयो, ‘जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।’
माओवादीले युद्धकालीन समयमा राष्ट्रिय मुक्तिको एजेन्डालाई अगाडि सार्दै उत्पीडित जाति र क्षेत्रीय मुक्तिका लागि भन्दै विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको अभ्यास गरेको थियो । त्यही मोर्चाहरूको आधारमा राज्य पुनर्संरचनामा १४ प्रदेशको अवधारणा माओवादीले अगाडि सारेको थियो ।
नेताहरूका अनुसार अध्यक्ष प्रचण्डले मधेशमा देखिएको गुटगत समस्या हल गर्दै मिसन २०८४ को अभियानलाई अगाडि बढाउनेदेखि सडक र सदनको संघर्षलाई मुख्य विषय बनाउने विषय पनि सम्बोधनको क्रममा उल्लेख गर्नुभएको छ ।
‘हाम्रो पार्टीको संघ र प्रदेश सांसदहरूको भूमिका प्रभावकारी छैन, राम्रा काम गरिरहेकाहरूको उच्च मूल्याङ्कन गरिनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले बताउनुभयो ।  ००००००
 

प्रतिकृया दिनुहोस