५० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि राष्ट्र बैंकको बोलकबोल
विर्तामोड, २१ पुस ।
नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिनेगरी सूचना निकालेको थियो ।
यस निक्षेप संकलनको उपकरणको नाम राष्ट्र बैंकले ‘निक्षेप संकलन’ राखेको छ । आह्वान रकम ५० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ । साँवा र ब्याज भुक्तानी आउँदो माघ १३ गते हुनेछ ।
यसअघि राष्ट्र बैंकले यही पुसको १७ गते ४० अर्ब, १४ गते ७० अर्ब, ९ गते ४० अर्ब, ७ गते ६० अर्ब र ३ गते एक खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसरी पछिल्लो १८ दिनमै राष्ट्र बैंकले तीन खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पैसा थुप्रिएको छ । तर कर्जा माग्ने व्यक्ति र व्यावसायिक संस्था भने भेटिन छाडेका छन् ।
डेढ वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने पैसा थिएन अर्थात् तरलता अभाव थियो । अहिले भने पैसा थुप्रिएको छ अर्थात् अधिक तरलता छ । अधिक तरलताले देशमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ । अर्थतन्त्र सुस्त हुँदा नयाँ उद्योग कलकारखाना खासै खुलेका छैनन्, खुलेकाले पनि क्षमता बढाउने आँट गरेका छैनन् । ००००००
प्रतिकृया दिनुहोस