‘स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य’


धरान, २१ पुस ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताउनुभएको छ । 
कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सहमतिअनुसार दुवै पार्टीले इमान्दार भएर काम गरिरहेको बताउनुभयो । “विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकता अनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिनेगरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुननसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गतिदिने गरी सरकार अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।  
कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्नुभयो । 
कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोखरेल,  क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस