प्राप्त मतको सम्मान हुनेगरी काम गर्नुपर्छ : महामन्त्री शर्मा
विर्तामोड, २१ पुस ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ को क्षेत्रीय भेला आज मेचीनगरमा सम्पन्न भएको छ । सयदिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित भेला कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा महामन्त्री शर्माले पार्टी संगठनको नेतृत्व प्राप्त गर्ने ब्यक्ति र जनप्रतिनिधिहरुले प्राप्त मतको सम्मान हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
‘पाएको मतको सम्मान हुने गरी काम गरौं’, शर्माले भन्नुभयो, ‘प्राप्त मतको सम्मान गरेर काम गरे पुग्छ । जनअपेक्षा अनुसारका काम गरौं, पार्टी संगठनभित्र जिम्मेवारी प्राप्त गर्नेले संगठन बलियो बनाउनुहोस्, जनप्रतिनिधि बनेकाले जनताको भावना अनुसारको काम गरौं ।’
पार्टीको महाधिवेशन समयमै गर्ने बताउँदै उहाँले यही ब्यवस्थाभित्र रहेर संविधान संसोधन गरिने बताउनुभयो । एक ब्यक्ति दुईपटक मात्रै प्रधानमन्त्री बन्ने ब्यवस्था गरिनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले पार्टीलाई सशक्त बनाउने चिन्ता कार्यकर्तालाई रहेको बताउनुभयो । अधिकार माग्ने मात्रै होइन, खोज्न र खोस्न सक्नुपर्ने धारणा राख्दै उहाँले युवालाई नेतृत्वमा पु¥याउन सके युवामा आस जाग्ने र पार्टी रुपान्तरण हुने मत राख्नुभयो ।
कांग्रेस सभापति देउकुमार थेवेले केन्द्रीय कार्यक्रमलाई सफल सञ्चालन गर्ने मात्रै होइन, जिल्लाले काम गर्दा टोलसम्मकै क्यालेन्डर तयार पारेर जिम्मेवारी दिएको र काम गरिरहेको बताउनुभयो । जिम्मेवारी बुझेर काम गर्न तल्लो निकाय र नेतृत्वलाई आग्रह गर्दै थेवेले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सके पार्टीका धेरै समस्या हल हुने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य विमल आचार्यले तल्लो तह र गाउँसम्म जाने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नेताहरुले पद लिएको जिम्मेवारी पूरा नगरेको उहाँको जिकिर थियो ।
कोशी प्रदेश समिति सदस्य शोभा श्रेष्ठ नेम्वाङले प्रतिनिधिमुलक रूपमा संकुचित गरेर प्रमुख नेतृत्वमा महिलालाई लान नचाहेको बताउनुभयो ।
१ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य राम कट्टेल, मेचीनगर सभापति सुदय पनेरु, शेरबहादुर राय, कृष्ण आचार्य, हर्क फियाक, त्रिभुवन चौधरी , शरद शिवाकोटी, ध्रुव कनाल देवेन्द्र गौतम , भूमी पौडेल , लालबहादुर धिमाल , सूर्यप्रकाश उप्रेती, वेदनिधी खनाल, चेतनाथ भट्टराई, प्रज्वल कार्की, गोविन्द लम्साल लगायतले मन्तब्य राख्नुभएको थियो ।
क्षेत्रीय उपसभापति सन्तोष न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिवद्वय सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराईले सञ्चालन गर्नुभएको थियो । ००००००
प्रतिकृया दिनुहोस