रेडक्रस बिर्तामोडको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत
विर्तामोड, २४ पुस ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ । उपशाखाको आगामी चारवर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो ।
समितिको उपसभापतिमा शिला भट्टराई बराल, सचिवमा निरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगलाल न्यौपाने, उपकोषाध्यक्षमा गोवेन धिमाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रेजिना गौतम, राजेन्द्र चौंलागाँई, मिजास पोखरेल, ऋषभ बस्नेत र मनोजकुमार शाह निर्वाचित भएको निर्वाचन समिति सदस्य हेम खड्काले जानकारी दिनुभयो ।
उपशाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले तय गरेको निर्वाचन तालिका अनुसार सबै पदमा एक÷एक जनाको मात्रै उम्मेद्वारी परेसंगै सिङ्गो कार्यसमिति सर्वसम्मत चयन भएको हो । बिर्तामोडको पञ्चकन्यामा आफ्नै भवन रहेको रेडक्रस उपशाखामा नियमित रक्त सञ्चार केन्द्र समेत सञ्चालन हुँदै आएको छ ।
चार वर्षे कार्यावधि रहेको नेपाल रेडक्रस जिल्ला शाखा भद्रपुर मातहतका अधिकांस उपशाखाको नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । यसअघि हल्दिबारी, खुदुनाबारी, गौरादह, जलथल लगायतका उपशाखामा नेतृत्व चयन भइसकेको छ भने केही उपशाखामा नेतृत्व चयनको प्रक्रिया चलिरहेको बताइएको छ । ०००००
प्रतिकृया दिनुहोस