चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो

भद्रपुर (झापा), २ माघ ।
जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न्यूनीकरण गर्न घर, विद्यालयलगायत भौतिक संरचना निर्माण गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो । भूकम्पजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरुमा नै सतर्कता अपनाउनुपर्ने भन्दै उहाँले सर्तकता अपनाउँदा ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राख्नुभयो ।  
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भूकम्प नियन्त्रण गर्नु हाम्रो अधीन नभए पनि यसबाट हुने क्षतिलाई कम गर्न सजगता अपनाउनुपर्ने बताउनुभयो । भूकम्पसहित अन्य प्राकृतिक विपद्बाट बच्न पूर्वतयारी तथा यससम्बन्धी सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भूकम्पको जोखिम न्यूनीकरणका लागि सचेतनासहित प्रचारप्रसार गरी यसबाट बच्ने उपायका बारेमा जनचेतना फैलाउन अपरिहार्य रहेको बताउनुभयो । विगत ९० वर्षमा चार ठूला र हजारौँको सङ्ख्यामा भूकम्पका धक्का भोगिसकेको उल्लेख गर्दै उहाँले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी र घर तथा भौतिक संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।  
भूकम्प सुरक्षा दिवसको अवसरमा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरीको आयोजना गरी कर्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि, शिक्षक विद्यार्थी, रेडक्रसलगायत स्थानीयको सहभागिता थियो । ००००००
 

प्रतिकृया दिनुहोस