झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु  

बिर्तामोड, ८ माघ ।

झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, बंगलादेश, पाकिस्तानसहितका वस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको प्रवद्र्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्तरदेशीय राजमार्ग (एसियन हाइवे) को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता रहेको उहाँले औल्याउनुभयो । व्यापार प्रवद्र्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
प्रदेश सरकारले २०८१ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । स्थानीय उत्पादन र स्वरोजगारमुलक उद्यमको प्रवद्र्धनमा पर्यटन वर्षले थप टेवा दिने उहाँले विश्वास दिलाउनुभयो । लगानी सम्मेलन र चिया सम्मेलनसमेत गरिने आगामी वर्ष दश करोडभन्दा माथिका सामूहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई उहाँको आग्रह छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि जानकारी गराउनुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रवद्र्धन तथा होटल व्यवसाय सहयोगी बन्न सक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको धारणा छ ।
कार्यक्रममा बोल्दै खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आशा व्यक्त गर्नुभयो ।
संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुनेगरीको वातावरण तयार गर्न सरकारसमक्ष माग गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रवद्र्धनका लागि सरकारका तीनवटै तह जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायिक स्टल रहेका छन् । खेल सामग्री, फुडकोड, सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका चर्चित कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तब्य गर्नुभएको थियो । त्यसअघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु तथा शुभेच्छुकहरुको समूह विभिन्न झाँकीसहित नगर परिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।  ००००००००

 

प्रतिकृया दिनुहोस